काठमाडौं । सरकार फेरिए पनि नेपाल प्रहरीमा भने केही पावरफुल प्रहरी अधिकृतको हालिमुहाली कायमै छ । नयाँ सरकारमा पनि केहीले एकपछि अर्को अवसर पाइरहेका छन् ।
त्यसको उदारण हुन् डीएसपी पूर्णिमा चन्द । जसलाई उपत्यकाको एउटा वृत्तबाट अर्को वृत्तमा पठाइएको छ । स्वयम्भु वृत्तबाट सरुवा भएको एक वर्ष नहुँदै उनलाई सातदोबाटो वृत्तको प्रमुखमा खटाइएको छ।
सातदोबाटो वृत्तमा कार्यरत डीएसपी रामकुमार यादवलाई एक्कासी हटाएर चन्दलाई पठाइएको हो । चन्द काठमाडौ परिसरमा कार्यरत थिइन्।
अघिल्लो सरकारको समयमा डीएसपी चन्द दरबारमार्ग वृत्तमा जानका लागि शक्तिकेन्द्र धाइरहेकी थिइन् । तर, सरकार फेरिएपछि उनको त्यो सपना तुहिएको थियो ।
अहिले फेरि एक डीएसपीलाई हटाएर उनलाई वृत्तको इन्चार्ज बनाइएको छ । डीएसपी यादवलाई कार्यक्षमताको अभाव भनेर सरुवा गरिएको छ । काम गर्न नसकेको कुनै प्रष्ट आधारबिना नै उनलाई हटाइएको बताइएको छ।