काठमाडौं। एमाले निकट विद्यार्थी संगठन अखिलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध देशभरबाट जाहेरी दिएको छ।
जेनजी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी भएकाले साह र गुरुङविरुद्ध जाहेरी दिएको अखिलले जनाएको छ ।
उपाध्यक्ष अञ्जना सिवाकोटीले भनिन्- 'हाम्रा मतहतका सबै कमिटीले आज नजिकको प्रहरी कार्यालयमा गएर जाहेरी दिएका छन् । कुनै कमिटीले आफ्नै तरिकाले दिनु भएको छ। तर, अधिकांशले एउटै व्यहोरामा जाहेरी दिनु भएको छ।'
सार्वजनिक सम्पत्ति अड्डा अदालत, प्रहरी चौकीमा तोडफोड र आगजनी भएकाले आजदेखि देशैभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने तयारी गरिएको अखिलको दाबी छ ।
मंगलबार सुदन गुरुङसहितको समूहले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकविरुद्ध जाहेरी लिएर परिसरमा पुगेका थिए ।
२३ भदौको आन्दोलनमा सुरक्षा निकायको गोली लागेर २१ जनाको ज्यान जानुमा उनीहरू नै दोषी रहेकाले पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने माग थियो । उक्त जाहेरी पनि प्रहरीले दर्ता नगरी आयोगमा पठाएको थियो ।
त्यसैको प्रतिक्रिया स्वरुप एमाले अखिलले मंगलबार नै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिन गएको थियो । तर अखिलको जाहेरी दर्ता भएको छैन । प्रहरीले सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने बताएको थियो।
अहिले बालेनले सिंहदबार जल्दा समेत आगो निभाउन दमकल नपठाएको र सुदनले आगजनी गरेको भन्दै जाहेरी पर्न थालेको छ ।