काठमाडौं । नेपाली कांग्रेसकी निवर्तमान सांसद प्रतिमा गौतम र सपना राज भण्डारीले आफ्नो राजनयिक (रातो) पासपोर्ट फिर्ता गरेकी छन् ।
संघीय संसद् सचिवालयमार्फत सांसदको हैसियतमा प्राप्त उक्त पासपोर्ट उनीहरूले राहदानी विभागमा बुझाएको पुष्टि भएको हो ।
हालैको जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएको घोषणासँगै सांसदहरूले पाउँदै आएको सेवा, सुविधा र विशेषाधिकार फिर्ता गर्ने क्रम तीव्र बन्दै गएको छ। त्यसैको निरन्तरता स्वरूप कांग्रेस नेतृ गौतम र भण्डारीले पनि आफ्नो पासपोर्ट स्वेच्छाले बुझाएको बताइएको छ ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि रातो पासपोर्ट र सांसदको लोगो फिर्ता गरेका थिए। रास्वपाका सांसदहरूले संसद विघटनपछि पूर्वसांसदको हैसियत स्वीकार्दै जनताप्रति जवाफदेही बन्नुपर्ने बताउँदै फिर्ता गरेका थिए।
कांग्रेस नेतृहरूले पनि सोही भावनामा आफूहरू नैतिक र राजनीतिक दृष्टिले जिम्मेवार रहेको बताउँदै पासपोर्ट बुझाएको बताइएको छ।