काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सको नाममा एक समूह अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी हटाउने अभियानमा लागेको छ । संसदीय सुनुवाई नगरी नियुक्ति भएको भन्दै राजीनामा दिन उनीहरुले दबाब दिइरहेका छन् ।
यो अलायन्समा आन्दोलनमा संलग्न मुख्य समुह छैन । सुदन गुरुङ, मिराज ढुंगाना, रक्षा बम लगायतको पनि संलग्नता छैन । नयाँ खुलेको अलायन्सले अख्तियारका पदाधिकारीलाई मात्र लक्षित गरेपछि उनीहरुको अभियानलाई शंकास्पद रुपमा हेर्न थालिएको छ ।
५/६ जनाको समुह मंलबार अख्तियारको मुख्य कार्यालयमा पुगेर प्रमुख आयुक्त र आयुक्तहरुलाई राजीनामाका लागि दबाबपत्र दिएका थिए । त्यसलाई व्यापक रुपमा प्रचार गरिएको छ ।
जेनजीका मुख्य अगुवाहरुले भने जेनजी आन्दोलनमा बल प्रयोग गर्नेमाथि कारबाहीको लागि पहल गरिरहेका बेला यो समूह भने अख्तियारमा लागिरहेको छ ।
स्रोतका अनुसार अख्तियारविरुद्ध केही स्वार्थ समुह पनि लागेका छन् । जसले जेनजीको काँधमा बन्दुक राखेर पड्काउने प्रयास गरिरहेका छन् ।
अख्तियारविरुद्ध हाल दुईवटा स्वार्थ समूह सक्रिय छन् । एउटा अख्तियारले हाल अनुसन्धान गरिरहेका व्यक्तिहरु । जसमा नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीदेखि भिजिट भिसा काण्डका आरोपी छन् । त्यस्तै, अख्तियारबाट धक्का भेटेका बिचौलिया दिपक भट्ट पनि प्रमुख आयुक्त प्रेम राई लगायतविरुद्ध लागेका छन् ।
अर्का समूह भने अहिलेका पदाधिकारीलाई हटाउन सके नियुक्ति खाने दाउमा रहेकाहरु छन् । सो समूहले यसअघि अदालतकै मुद्दाबाट उनीहरुलाई हटाउने प्रयास गरेको थियो । त्यसमा असफल भएपछि उनीहरु अहिले जेनजीलाई उचाल्न थालेका छन् ।
यसरी राजीनाका लागि दबाब दिनेमध्ये केहीले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग समेत भेटेका तस्बिर बाहिर आएका छन् । कल्याण श्रेष्ठ शुरुबाटै अख्तियारका पदाधिकारी हटाउने खेलमा लागेका थिए।
श्रेष्ठले जेनजीका अभिषेक श्रेष्ठलाई अस्पतालमा भेटेपछि एकाएक अख्तियारका पदाधिकारी हटाउने मुद्दा चर्किएको छ। स्रोतका अनुसार अख्तियारका प्रमुखसहितका आयुक्तहरु हटाउने जेनजी मुभमेन्ट अलायन्सको नामको बिज्ञप्ति नै उनको योजनामा ड्राफ्ट गरिएको थियो।
यसरी २-४ जनाले दबाब दिएकै भरमा अख्तियारका पदाधिकारीले राजीनामा दिने हो भने यसले भोलिका दिनमा कस्तो नजिर बसाल्छ भन्ने प्रश्न उठेको छ ।
‘राजनीतिक नेतृत्वमाथि छानविनका लागि दबाब दिएको भए उनीहरुको माग जायज देखिन्थ्यो,’ आयोगकै एक पूर्व आयुक्त भन्छन्, ‘यसरी केही व्यक्तिले राजीनामा दे भनेकै आधारमा राजीनामा दिने हो भने त आयोग भोलिका दिनमा झनै कमजोर हुन्छ।’
अख्तियारमाथि भएको यो राजनीतिले अख्तियारले छानविन अन्तिम चरणमा पुर्याएका सयौं आरोपीले उन्मुक्ति पाउने जोखिम बढेको छ ।