मकवानपुर । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा विद्युतीय गाडी (इभी) र मोटरसाइकल एकआपसमा ठोकिएर दुर्घटना भएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।
सिन्धुलीबाट काठमाडौँ जान हेटौँडातर्फ आउँदै गरेको मधेस प्रदेश ००२-००१ ज ००७२ नम्बरको ईभी गाडी बागमती गाउँपालिकातर्फ जाँदै गरेको ना ५२ प ५५९८ नम्बरको मोटरसाइकलसँग ठोक्किएको हो ।
ठक्करबाट ईभीमा सवार १३ जना र मोटरसाइकल चालकसहित १४ जना घाइते भएका छन् । घाइतेहरूको बागमती–४ झुरझुरेस्थित सान्बि अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेटौँडा ल्याइएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुलेको छैन भने घटनास्थलमा प्रहरी टोली पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।