काठमाडौं । जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको स्वेच्छिक राजीनामाको माग गरेको छ। सोमबार जारी विज्ञप्तिमार्फत अलायन्सले राईलाई अनौपचारिक र विद्युतीय माध्यमबाट राजीनामा दिन आग्रह गरेको जनाएको हो।
अलायन्सले चेतावनी दिएको छ कि यदि राईले मंगलबार बिहान १० बजेसम्म राजीनामा नदिए आयोगको कार्यालयमा औपचारिक निवेदन दर्ता गराइनेछ र आवश्यक परे थप कार्यक्रम घोषणा गरिनेछ।
विज्ञप्तिमा उल्लेख छ, “हाल आयोगका प्रमुखलगायत अन्य आयुक्तलाई पदबाट हटाउन महाअभियोग आवश्यक पर्छ, तर संघीय संसद नभएकाले त्यो प्रक्रिया सम्भव छैन। त्यसैले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तले राजीनामा दिएर आयोगलाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउन सहयोग गर्नुपर्छ।”
अलायन्सले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदीय सुनुवाइ नगरी राईलाई नियुक्त गरेको र उनी विभिन्न विवादास्पद मुद्दामा मुछिएका कारण नै अख्तियारको विश्वसनीयता कमजोर भएको आरोप लगाएको छ।
राईको नाम नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी जहाज खरिद प्रकरणमा मुछिएको भन्दै अलायन्सले उनको नैतिक जिम्मेवारी स्वरूप राजीनामा आवश्यक ठहर गरेको हो।