एजेन्सी । रुस र युक्रेनबीच जारी तीन वर्षको युद्ध अझ भयावह बन्दै गएको छ । शनिबार रातभर रुसले युक्रेनका विभिन्न सहरहरूमा ठूला स्तरका ड्रोन, मिसाइल र गाइडेड बम प्रयोग गरी आक्रमण गरेको छ, जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार, रुसले नौ फरक–फरक इलाकामा ५० भन्दा बढी ब्यालिस्टिक मिसाइल र करिब ५०० ड्रोन प्रहार गरेको थियो। ती हमलाहरूले मुख्य सहरहरूमा ठूलो क्षति पुर्याएका छन्।
पश्चिमी युक्रेनको ल्भिव सहरमा भएको भीषण ड्रोन र मिसाइल हमलामा पाँच जनाको मृत्यु भएको छ, जसमा १५ वर्षका एक बालक पनि रहेका छन् ।
हमलापछि दुई वटा इलाकामा बिजुली आपूर्ति पूर्ण रूपमा ठप्प भएको र सार्वजनिक यातायात सेवा केही घण्टासम्म बन्द गरिएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
युद्धको तेस्रो वर्षमा प्रवेशसँगै दुवै पक्षबीचको आक्रमण–प्रत्याक्रमण थप तीव्र बन्दै गएको छ।