सुनसरी । अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलबहाव बढ्दै गएपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड ३ लाख ३५ हजार सेक पुगेपछि सबै ढोका खोलिएको जानकारी दिए। उनका अनुसार शनिबार बिहान सवा ८ बजे नदीको जलबहाव मापन गरिएको थियो।
शनिबार बेलुका ८ बजे पानीको प्रवाह मापन गर्दा एक लाख ९३ हजार ६० प्रतिसेकेण्ड पाइएपछि १५ ढोका खोलिएको थियो। गत भदौ १७ गते नदीमा पानीको वहाब उच्च हुँदै जाँदा कोशी ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको थियो। यसपछि लगातार पानीको बहाव घटेको थियो। शुक्रबार र शनिबार लगातार वर्षा भइरहेको कारण आज बिहानदेखि सप्तकोशीमा पानीको बहाव बढ्दै गएको प्रवक्ता खतिवडाले जानकारी दिए।
पुलमा हलुका सवारी साधनलाई आउजाउ गर्न दिइएको छ भने हेभी गाडी होल्डमा राखिएका छन् ।
कोशी ब्यारेजमा पानीको प्रवाह एक लाख ५० हजार क्यूसेक नाघेपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिन्छ। अहिले कोशी ब्यारेजमा तीन रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।