काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले तलब नपाएको भनेर सबैभन्दा बढी मधेस प्रदेशका विद्यालय शिक्षकबाट आएको बताएका छन्।
शिक्षा मन्त्रालयले सबै पालिकाहरुलाई रकम पठाइसके पनि तलब पाइएन भनेर फोनबाट र इमेलबाट ५ सयभन्दा बढी गुनासो आएको मन्त्री पुनले बताएका हुन् ।
उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्- 'तलब पाइएन भनेर मलाई सबै भन्दा धेरै फोन मधेसबाट आएको छ। बर्ष दिनमा आउने दसैँ, तिहार र छठ पर्वजस्तो महान् चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो । शिक्षा मन्त्रालयले सबै पालिकाहरूलाई पैसा पठाइसकेको रहेछ। यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दै छु र सो बेथितिको समाधानको उपाय खोज्दै छु।'
दसैँ, तिहार र छठ पर्वजस्तो महान् चाडबाडको समयमा समेत शिक्षक कर्मचारीहरुलाई तलब नखुवाएको विषयमा अनुसन्धान गरिने उनले बताए ।