म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन आगामी प्रतिनिधीसभा चुनाव लड्ने भएका छन् ।
महावीर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।
अर्थमन्त्री रामेश्वर खनालले आज मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत पुनले राजीनामा दिएको जानकारी गराएका थिए ।
प्रधानमन्त्रीको सचिवालयले पनि यसबारे जानकारी गराएको छ ।
पुनसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका ४ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । यसअघि ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिएका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्रीले वर्तमान अन्तरिम सरकारमा रहेका र राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्धित तथा चुनावी गतिविधिमा संलग्न मन्त्रीहरूलाई आफ्नो जिम्मेवारी छोडेर चुनावी तयारीमा लाग्न निर्देशन दिएकी थिइन्।
निर्वाचन आयोगमा आज बिहान साढे ११ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम सूची बुझाउनुपर्ने कार्यतालिका छ।