काठमाडौं । काठमाडौं महानगरपालिका–२२ भीमसेनस्थानमा सोमबार बिहान लागेको भीषण आगलागी करिब पाँच घण्टापछि नियन्त्रणमा आएको छ।
बिहान साढे ४ बजे सुरु भएको आगो बिहान साढे ९ बजे मात्रै नियन्त्रणमा आएको हो । प्रहरीका अनुसार आगलागीमा चारवटा घर र एक मन्दिर क्षतिग्रस्त भएका छन् ।
एक घर पूर्ण रूपमा जलेर ध्वस्त भएको छ भने अन्य तीन घर र मन्दिरमा आंशिक क्षति पुगेको बताइएको छ । पूर्ण रूपमा जलेको घरमा मानवीय क्षतिको आशंका रहेको र त्यहाँ खोतल्ने काम भइरहेको छ ।
आगलागी भीमसेनस्थानका मोहन शाहको दुईतले घरको कपडाको गोदामबाट सुरु भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगो नियन्त्रणका लागि काठमाडौं महानगरका चार, ललितपुर महानगरको एक, बूढानीलकण्ठ नगरपालिकाको एक र नेपाली सेनासहित आठवटा दमकल परिचालन गरिएको थियो ।