सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशसभा संसदीय दलले सत्ता साझेदार नेपाली कांग्रेसले गठबन्धन संस्कृतिअनुरूप व्यवहार नगरेको निष्कर्ष निकालेको छ ।
बिहीबार प्रदेशसभास्थित दलको कार्यालयमा बसेको बैठकले कांग्रेसले सरकारका काम कारबाहीमा लगातार असहयोग गरेको र संयुक्त सरकार सञ्चालनको संस्कृतिअनुरूप भूमिका निर्वाह नगरेको निष्कर्ष निकालेको हो ।
कर्णाली प्रदेशमा एमालेका यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसले आर्थिक मामिलासहित चार मन्त्रालय लिएको छ । दुई दलबीच सत्ता सहकार्य भएको १ वर्ष बितिसक्दासमेत कर्णालीमा यी दलबीच सुमधुर सम्बन्ध छैन ।
कांग्रेस दलका नेता जीवनबहादुर शाहीले सार्वजनिक रूपमा सरकार छाड्ने धम्की दिने गरेको, सरकारका काममा लगातार असहयोग गर्ने गरेको एमालेको बुझाइ छ । एमाले प्रमुख सचेतक टेकराज पछाईले कांग्रेसको भूमिकाबारे बैठकमा व्यापक छलफल भएको जानकारी दिए ।
‘बैठकमा सत्ता सहकार्यको विषयमा गम्भीर समीक्षा भयो, कांग्रेसको जे भूमिका हुनुपथ्र्यो, त्यो भूमिकाचाहिँ भएन भन्ने निष्कर्ष रह्यो,’ पछाईले भने । राजधानी दैनिकबाट