काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’माथि अनुशासनको कारबाही गर्न अध्यक्षमाथि दबाब बढेको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध निरन्तर सार्वजनिक अभिव्यक्ति दिएपछि उनलाई अनुशासनको कारबाही गर्न अधिकांश स्थायी समिति सदस्य एकमतजस्तै देखिएका छन् ।
शुक्रबार माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्दै छ । सो बैठकमा उपमहासचिव शर्मालाई अनुशासनको कारबाही गर्नुपर्ने आवाज प्रचण्डनिकट नेताले उठाउँदै छन् । गत बुधबार बसेको पदाधिकारी बैठकमा समेत यस विषयले प्रवेश पाएको थियो ।
अनुशासनको विषय पदाधिकारी बैठकमा उठेको भए पनि त्यस’दयगतमा थप छलफल र निर्णय भने स्थायी समिति बैठकबाट हुँदै छ । शर्मानिकटका नेता यो विषय केन्द्रीय समिति बैठक हुँदै महाधिवेशनसम्म लम्ब्याउने आन्तरिक रणनीतिमा छन् ।
प्रचण्डले पार्टी नेतृत्व छोड्नुपर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै शर्माले नेतृत्वमाथि निरन्तर ‘हमला’ गर्दै आएको बुझाइ पार्टी नेतृत्वको छ । यता, शर्माले नेतृत्व हस्तान्तरणको कुरा गर्दा पार्टी नै छोडेर ‘जा’ भन्दै तर्साउने गरिएको बुझाइमा शर्मा छन् ।
गत ६ साउनमा उपमहासचिव शर्माले नेपालका कम्युनिस्ट पार्टीहरू सामन्ती झुण्डमा परिणत हुन थालेका टिप्पणी गरेका थिए । साथै, मनमोहन अधिकारीबाहेकका कम्युनिस्ट प्रधानमन्त्रीहरू ‘असुली’ धन्दामा लागेको कडा टिप्पणी गरेपछि पार्टी नेतृत्व उनीबाट असन्तुष्ट बनेको हो । राजधानी दैनिकबाट