काठमाडौं । आर्थिक वर्ष २०८१–०८२ मा सरकारले अन्तर्राष्ट्रिय दातृ निकायबाट २ खर्ब ७३ अर्ब रुपैयाँ सहायता प्राप्त गरेको छ ।
एक वर्षको अवधिमा ऋण र अनुदान गरेर यो रकम प्राप्त गरेको सरकारले विभिन्न विकास आयोजना कार्यान्वयनका लागि विकास सहायता निकायसँग ऋण र अनुदानका रूपमा सहायता लिने गर्छ ।
अर्थ मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाले १४ वटा दातृ निकायसँग ३३ वटा अनुदान र ऋण सम्झौता गरेको जनाएको छ । सरकारले प्राप्त गरेको सहायतामा २१ प्रतिशतमात्रै अनुदान छ भने ७९ प्रतिशत ऋण छ । सहायताको रूपमा ५७ अर्ब ५० करोड प्राप्त गरेको छ भने २ खर्ब १५ अर्ब ५४ करोड ऋणका रूपमा प्राप्त गरेको तथ्यांक छ ।
एसियाली विकास बैंक, विश्व बैंक, ईयू, डब्लूडब्लूएफ, एफसीडीओ, जापान, चीन, स्वीजरल्यान्ड, नर्वे लगायत दातृ निकायले सो प्रतिबद्धता जनाएका हुन् । सम्झौतामध्ये ५ वटा बहुपक्षीय र ९ वटा द्विपक्षीय सम्झौता छन् ।
बहुपक्षीय सम्झौताबाट २ खर्ब २९ अर्ब ५३ करोड प्राप्त भएको र द्विपक्षीय सम्झौताबाट ४३ अर्ब ५१ करोड रुपैयाँ प्राप्त गरेको देखिएको छ । ३३ वटा कुल सम्झौतामा २० वटा अनुदान र १३ ऋण सम्झौता रहेको अर्थ मन्त्रालयले जनाएको छ । राजधानी दैनिकबाट