काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीले साउनको पहिलो साता नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका थिए तर सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ‘आलटाल’ले ढिलाइ भएको हो ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी ९एमाले०सहित केही साना दलको गठबन्धन सरकारको १ वर्ष पुगिसकेको छ । सरकार गठनको १ वर्ष पुगेपछि मन्त्रीहरू हेरफेर गर्ने यसअघि नै सहमति भएको थियो । सोही सहमतिअनुसार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न खोजेका छन् ।
पुनर्गठनका विषयमा प्रधानमन्त्री ओलीले गत असारमै कांग्रेस सभापति देउवासँग पटकपटक छलफल गरेका थिए । त्यतिबेला देउवा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सहमत थिए । तर, पछिल्लो समय उनले आलटाल गरिरहेकाले ढिलाइ भएको छ । राजधानी दैनिकबाट