काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संस्थागत अवरोधका बीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक गतिविधि तीव्र बनाउने निष्कर्षमा पुगेकी छन् ।
एमाले केन्द्रीय कमिटी बैठकले पार्टी सदस्यता नवीकरण गरिसकेकी भण्डारीको सदस्यता ‘होल्ड’मा राख्दै पार्टी राजनीतिमा रोकेलगत्तै उनले ‘राजनीतिक ब्याकअप’सहित सक्रियता बढाउने निष्कर्षमा पुगेकी हुन् ।
भण्डारीले आफूनिकट नेताहरूसँगको आन्तरिक छलफल गर्दै जिल्ला–जिल्लामा कार्यक्रम लिएर जाने जनाएकी छन् । एमालेको मंगलबार मध्यराति आएको सो निर्णयपश्चात् भण्डारी आन्तरिक छलफलमा जुटेकी छन् ।
एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीले संविधान, कानुन र जनताको बहुदलीय जनवादको मर्मविपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन बन्देज लगाएको टिप्पणी गरेका छन् ।
एमालेको केन्द्रीय कमिटीले प्रस्तावमा पनि नभएको र छलफल गर्नुपर्ने एजेन्डामा समेत नरहेको कुरालाई छलफलमा ल्याएर भण्डारीलाई राजनीतिमा आउनबाट रोक लगाएको बताए । राजधानी दैनिकबाट