काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण ‘होल्ड अफ’ मा राखेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सदस्यता नवीकरण गरेको बताउँदै सक्रिय राजनीतिमा आएको उद्घोष गरेकी थिइन् । तर पार्टीले उनको सदस्यता नवीकरण गर्ने–नगर्ने विषयमा निर्णय गर्न बाँकी छ । गत १४ असारमा भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी थिइन् ।
त्यसपछि पार्टीको नेतृत्व लिनेगरी सक्रियता बढाउँदै गर्दा उनको सदस्यता नवीकरण गर्र्ने कि नगर्ने भन्ने बारेमा पार्टीले निर्णय गरेपछि मात्रै लागू हुनेछ ।
एमाले सचिवालय बैठकको भोलिपल्टै शुक्रबार र शनिबार पोलिटब्युरो कमिटीको बैठक बसेको थियो । सोमबार (५ साउन) देखि केन्द्रीय कमिटीको बैठक बस्दै छ । सचिवालय र पोलिटब्युरो दुबै बैठकमा भण्डारीको सदस्यता नवीकरणको विषयमा आवाज उठेको थियो ।
पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन हुने–नहुने विषयमा गर्मागर्मी बहस एमालेमा चलिरहेको छ । उनको सदस्यता नवीकरणको विषयमा छिनोफानो अब बस्ने केन्द्रीय कमिटीको बैठकले टुंगो लगाउने छ ।
एमालेको पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको बताएपछि एमालेपंक्ति तरंगित बन्न पुगेको थियो । ११औँ महाधिवेशनबाट उनले पार्टी नेतृत्व लिनेगरी सक्रियता बढाएपछि उनको सदस्यता नवीकरण गर्ने–नगर्ने भन्ने विषयमा पार्टी बैठकमा बहस जारी छ । राजधानी दैनिकबाट