काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमान चालक ९पाइलट०को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ।
आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स कम्पनीको त्रुटी औँल्याएको हो।
आयोगले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन बुझाएसँगै मन्त्रालयले वेबसाइटमार्फत अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार सि–चेकका लागि गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावनमार्ग नजिकै दुर्घटनाग्रस्त हुँदा जहाजमा सवार १८ जनाको मृत्यु भएको थियो। उक्त दुर्घटनामा पाइलट मनीष शाक्य बाँचेका थिए।
जहाज दुर्घटना भएकै दिन सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमन नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
प्रतिवेदनअनुसार जहाज दुर्घटनाको कारण प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको उल्लेख छ। जहाज टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग (नोज) अत्यधिक माथि उचालेका कारण ‘पिच रेट’ बढी हुन गई जहाजले गति घटेर ‘डीप स्टल’भएर दुर्घटना भएको जनाइएको छ।
जहाजको अगाडिको भाग अत्यधिक माथि उचालिनुलाई पिट रेट बढी भनिन्छ। डीप स्टलको अवस्थामा जहाजको अगाडिको भाग अत्यधिक उचालिएर पखेटाहरू उचालिएर हावाको बहाव ठप्प हुन्छ र जसले गर्दा जहाज उचाइलिन सक्दैन।
जहाज टेकअफ गर्ने क्रममा अत्यधिक गतिका साथ सिधा माथि उठेको र जहाजलाई डिप स्टलमा लग्दा जहाज खसेको प्रतिवेदनमा उल्लेख छ।