काठमाडौं । समस्याग्रस्त सहकारी संस्थामा फसेका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सरकारले तीव्र पारेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले मंगलबार शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका थप २१६ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको जनाएको छ।
समितिका अनुसार हाल समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने दायित्व रहेको छ। तीमध्ये ठूलो हिस्सा साना बचतकर्ताको रहेको समितिले स्पष्ट पारेको छ।
समितिले बचतकर्तालाई दुई वर्गमा विभाजन गरेको छ । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ।
कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जना ठूला बचतकर्ता रहेको तथ्यांकले देखाएको छ।
समितिका अनुसार हालसम्म १,३१३ जना साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन्। बाँकी बचतकर्ताको रकम फिर्ता प्रक्रिया क्रमशः अघि बढाइने बताइएको छ।
सरकारले समस्याग्रस्त सहकारीमा फसेको सर्वसाधारणको बचत सुरक्षित र चरणबद्ध रूपमा फिर्ता गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।