काठमाडौं । नेकपा एमालेको सदस्यता नवीकरण गर्दै सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृत्वमा आउन नदिन घेराबन्दीको प्रयास सुरु भएको छ ।
एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी निर्वाह गरेकी छन् । राष्ट्रपतिको जिम्मेवारीबाट हटेपछि उनी आन्तरिक छलफलमा थिइन् ।
त्यसको केही समयपश्चात देशदौडाहा गर्दै नेता कार्यकर्तासँग संघन छलफल गरिन् । र, गत १४ असारमा काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पार्टीको सदस्यता नवीकरण गरी पार्टी राजनीतिमा पुनः फर्किएको उद्घोष गरिन् ।
‘जनताको बहुदलीय जनवाद’ (जबज) का प्रणेता मदन भण्डारीको श्रीमती पूर्वराष्ट्रपति विद्यालाई राजनीतिमा ल्याउने प्रयास एमालेकै नेताले गरेका थिए । एमालेकै नेताहरूकै चाहनामा उनी राजनीतिमा फर्किएकी हुन् ।
मदन भण्डारी पाउन्डेसनले मदनको ७४औं जन्मजयन्तीका अवसरमा आयोजित सो कार्यक्रममा विद्याले सदस्यता नवीकरण गरेको बताएपछि पार्टीभित्र उनलाई नेतृत्वमा आउन नदिनका लागि घेराबन्दी सुरु भएको छ ।
आगामी २० देखि २२ भदौमा एमालेको विधान महाधिवेशन ललितपुरको गोदावरीमा हुँदै छ । राजधानी दैनिकबाट