काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्नुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलको तयारी गरेका छन् ।
सत्तारुढ दलहरूको आन्तरिक किचलोका कारण प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठनको दबाब परेको छ ।
सरकारमा सहभागी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोक राई र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्त ठाकुरसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले यही साता मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको बताइन्छ ।
गत शुक्रबार प्रधानमन्त्री ओली पाँच दिने स्पेन भ्रमणबाट स्वदेश फर्किसकेका छन् । स्पेन जानुअघिबाटै उनीमाथि मन्त्रिपरिषद् पुनर्गठन गर्न दबाब थियो ।
ओली नेतृत्वको सरकारमा सहभागी हुने समयमै जसपा र लोसपाले एक वर्षपछि आफ्ना मन्त्रीहरू फिर्ता बोलाएर उनीहरूको ठाउँमा अर्कोलाई पठाउने आन्तरिक सहमति थियो । सोही अनुसार जसपा र लोसपाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन लागेका हुन् ।
जसपाबाट नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री र प्रदीप यादव खानेपानी मन्त्री छन् । साह र यादवलाई फिर्ता बोलाएर जसपाले डा. वीरेन्द्रप्रसाद महतो र रञ्जु झालाई मन्त्री बनाउन खोजेको बताइन्छ ।
त्यस्तै, लोसपाबाट शरत्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । भण्डारीलाई फिर्ता बोलाएर लोसपाले सर्वेन्द्रनाथ शुक्लालाई पठाउने तयारी गरेको छ । राजधानी दैनिकबाट