काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा एक महिनाभन्दा बढी समयदेखि भइरहेको तालाबन्दी खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश नृपध्वज निरौलाको इजलासले हिजो तालाबन्दी नगर्नरनगराउन, ताला लगाएको भए खोल्न/खोलाउन गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
त्रिविको उपकुलपति, रेक्टर, रजिस्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन माग गर्दै अधिवक्ता महेश भट्टराईलगायतले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
माघमा सकिएको स्नातक तहको भर्ना खुलाउनुपर्ने माग राख्दै आएका शङ्करदेव, सरस्वती, पब्लिक युथ, सानोठिमी क्याम्पसका नेविसङ्घमा आबद्ध स्ववियु पदाधिकारीले गएको जेठ १४ गते उपकुलपति कार्यालय तोडफोड गर्दै तालाबन्दी गरेका थिए भने आंशिक प्राध्यापक सङ्घले जेठ ३० गते उपकुलपतिसहित रजिस्ट्रार, रेक्टर र सेवा आयोग कार्यालयमा तालाबन्दी गरेको थियो ।