काठमाडौं । गएराति सिन्धुपाल्चोक, नुवाकोट र बझाङमा ठूलो पानी परेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोकको मानेखर्क, गोब्रे, नुरपु गाउँ र आसपासका क्षेत्रमा भएको वर्षाका कारण मेलम्ची नदीमा जलसतह केही बढ्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
यस्तै नुवाकोटको त्रिशूली नदी बेत्रावतीमा जलसतह बढ्दो रहेकाले नदी तटीय क्षेत्र र आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
बझाङको बउलीगाड नदी आसपासमा पनि सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मनाङ, रुपन्देही, पर्वत, धादिङ, बाजुरा, बैतडीलगायतका ठाउँमा पनि अहिले पानी परेको छ ।
जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा बाढीको र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ ।