काठमाडौं । सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेका चार सरकारी उद्योगको बिक्री प्रक्रिया अघि बढाएको छ ।
बिक्रीका लागि प्रक्रिया अघि बढाइएका उद्योगहरूमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट छन् ।
सरकारले यी सरकारी उद्योगको सम्पत्ति मूल्यांकन (भ्यालुएसन) का लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाएको हो । परामर्शदाता नियुक्तिपछि उद्योगको सम्पत्ति मूल्यांकन प्रक्रिया अघि बढाइने भएको छ ।
अर्थ मन्त्रालयले यी चार उद्योग बिक्रीका लागि आशयपत्रसमेत मागिसकेको छ । अर्थ मन्त्रालयका अनुसार सुरुमा जनकपुर चुरोट कारखानाको सम्पत्ति मूल्यांकनको आशयपत्र पेस गर्न भनिएको छ । यसका लागि २३ असारलाई तोकिएको छ । आशयपत्र पेस गरिएकै दिन बोलपत्र खोल्ने अर्थ मन्त्रालयको तयारी छ ।
जनकपुर चुरोट कारखानापछि अन्य तीन कारखाना नेपाल मेटल कम्पनी, बुटबल धागो कारखाना र नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइटको सम्पत्ति मूल्यांकनका लागि आशयपत्र पेस गर्ने मिति २७ असारलाई तोकिएको छ । यी तीनवटै कम्पनीको बोलपत्र सोही दिने खोलिने भएको छ । राजधानी दैनिकबाट