Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

धनगढी र बेलौरीमा अति भारी वर्षा : हजार भन्दा बढी घर डुबानमा, १२ जनाको उद्धार

धनगढी र बेलौरीमा अति भारी वर्षा : हजार भन्दा बढी घर डुबानमा, १२ जनाको उद्धार

सोमवार , आषाढ १६, २०८२

काठमाडौं । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन विभागले भनेको छ ।

अति भारी वर्षासँगै कञ्चनपुरका पुनर्बास, कृष्णपुर लगायतका स्थानका केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यहरुलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।

त्यसैगरी पुनर्बासमा एउटा घर तथा बेदकोट र भिमदत्तको सिमानामा पाँच वटा घरमा पनि बाढी पसेको छ । तर मानवीय र ठूलो भौतिक क्षति भने नभएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

त्यस्तै धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाकीका अनुसार बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको जानकारी दिए ।

उनका अनुसार धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका हजार भन्दा बढी घरमा पानी पसेको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए ।

आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । अहिले जस्तै वर्षा साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने बताउँदै सोही अनुसार तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077