काठमाडौं । पतञ्जलि योगपीठलाई कानुन विपरीत रुपमा हदबन्दीभन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टाको स्वीकृति दिएको मुद्दामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग उठेको छ।
सर्वोच्च अदालतमा जारी बहसका क्रममा वरिष्ठ अधिवक्ता सुशील पन्तले नेपालमाथि गम्भीर आरोप लगाउँदै मुद्दा थुनामै राखेर अघि बढाइनुपर्ने तर्क गरेका हुन्।
'यो नीतिगत निर्णय होइन, प्रधानमन्त्रीको ठाडो आदेशमा गरिएको व्यक्तिगत स्वार्थप्रेरित निर्णय हो,' पन्तले अदालतमा भने, 'राज्यलाई ठुलो आर्थिक हानि पुर्याउने गरी संगीन काम भएको हुँदा अभियुक्त नेपाललाई थुनामा राखेर पुर्पक्ष अगाडि बढाउनुपर्छ।'
पन्तले अख्तियार दुरुपयोग अनुसन्धान आयोगतर्फबाट बहस गर्दै तत्कालीन मन्त्रिपरिषद्को निर्णयलाई नीतिगत ढोका लगाएर दोषमुक्त गर्न नमिल्ने जिकिर गरे।