अछाम । अछामको चौरपाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४७ करोड १० लाख २५ हजार ४८ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
गाउँपालिकाको दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा वडा नं. ५ का वडा अध्यक्ष हेमकर्ण खड्काले बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा संघीय र प्रदेश सरकारका विविध अनुदान, राजस्व बाँडफाँट तथा आन्तरिक स्रोतहरू मार्फत प्राप्त हुने रकमको विस्तृत विवरण उल्लेख गरिएको छ ।
आर्थिक वर्ष ०८२÷८३ मा नीति तथा कार्यक्रम कार्यान्वयनका लागि प्रस्तुत बजेटमा वित्तिय समानिकरण तर्फ संघ सरकारबाट २ करोड २२ लाख रुपैया, प्रदेश सरकाबाट १ लाख ३४ हजार, राजस्व बाँडफाँटबाट संघ सरकारबाट १० करोड १८ लाख, ६९ हजार, प्रदेश सरकारबाट ३४ लाख ६२ हजार रुपैयाँ व्यहोरिने उल्लेख गरिएको छ ।
यस्तै, सर्शत अनुदान संघ सरकारबाट २० करोड ८९ लाख, प्रदेश सरकारबाट ८० लाख, समपुरक अनुदान संघ सरकारबाट १ करोड, प्रदेश सरकारबाट १ करोड २६ लाख, विशेष अनुदान संघ सरकारबाट ६९लाख, प्रदेश सरकारबाट ७५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
आन्तरिक स्रोतबाट ८१ लाख ५१ हजार र वाक नेपालबाट ३३ लाख रुपैया प्राप्त हुने प्रक्षेपण गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष भीमबहादुर साउदका अनुसार बजेट कृषिको व्यवसायीकरण, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, खेलकुद, पर्यटन र संस्कृति प्रवर्द्धनमा केन्द्रित रहनेछ ।