मध्यविन्दु । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीबास क्षेत्रको वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीबासमा पुल भाँचिएपछि ‘डाइभर्सन’बाट यातायात सञ्चालन गरिएको थियो । डाइभर्सन पनि बगाएपछि वैकल्पिक मार्गबाट सवारी ‘पास’ गराइएको थियो । सोमबार बिहानदेखि त्यो मार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो ।
विनयी त्रिवेणी–३ स्थित खरंगे खोलामा वर्षाका कारण पानीको बहाव अत्यधिक बढेपछि उक्त वैकल्पिक मार्ग पनि पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरी उपरीक्षक यादव ढकालले बताए ।
हाल दाउन्ने–दुम्कीबासखण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने स्थिति छ । निरन्तरको वर्षासँगै पूर्वपश्चिम राजमार्गअन्तर्गत विनयी खोलामा निर्मित अस्थायी डाइभर्सन बगाएको थियो ।