सुर्खेत । पेट्रोलियम अन्वेषणबाट प्राप्त नमुना परीक्षणका क्रममा दैलेखमा ‘मिथेन’ ग्यास भएको पुष्टि भएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखको जलजले क्षेत्रमा मिथेन नामक ग्यास रहेको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई बुझाएको हो ।
खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक एवं प्रवक्ता दिनेशकुमार नापितले प्रारम्भिक प्रतिवेदनमा १ सय १२ अर्ब घनमिटर ग्यास रहेको र सो ग्यास नेपाललाई ५० वर्ष पुग्ने उल्लेख भएको पुष्टि गरे ।
‘पेट्रोलियम अन्वेषणसम्बन्धी नतिजा विश्लेषणसहितको अन्तिम प्रतिवेदन आउन अझ केही समय लाग्ने देखिएपछि हामीले चिनियाँ विज्ञ टोलीसँग प्रारम्भिक रिपोर्ट मागेका हौं,’ नापितले भने, ‘सो रिपोर्टमा दैलेखमा पर्याप्त मात्रमा प्राकृतिक ग्यास मिथेन रहेको पुष्टि हुनुले सरकारलाई यसपछिका आवश्यक तयारी गर्न बाटो खुल्यो ।’
विभागले प्रारम्भिक प्रतिवेदनका आधारमा परीक्षण उत्पादनको चरण सुरु गर्ने जनाएको छ । ‘अबको तयारी भनेको परीक्षण उत्पादनको हो, त्यो कसरी गर्ने रु कहिलेदेखि गर्ने रु कसबाट गराउने रु भन्ने कुराको निक्र्यौल गर्ने काम अब सुरु हुन्छ,’ प्रवक्ता नापितले भने, ‘अन्तिम प्रतिवेदन आउनुअगावै प्रारम्भिक प्रतिवेदनका आधारमा परीक्षण उत्पादनको पूर्वतयारीका कार्यहरू थालिनेछ ।’ विभागका अनुसार अन्तिम प्रतिवेदन पुससम्म प्राप्त हुनेछ ।
दैलेखमा उच्च गुणस्तरको ग्यास रहेको पुष्टि भएपछि सरकारी अधिकारीहरू र स्थानीयवासी उत्साही देखिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेखको नतिजाका आधारमा अन्य सम्भावित स्थानहरूमा अन्वेषण गरिने जानकारी दिए ।
पाल्पा, दाङलगायतका स्थानमा ग्यास रहेको अनुमान छ । स्थानीयवासीले पनि सरकारसँग व्यावसायिक उत्पादन र प्रशोधनको कामको पूर्वतयारीमा ढिलाइ नगर्न आग्रह गरेका छन् । जिल्लामा पर्याप्त मात्रामा उच्च गुणस्तरको प्राकृतिक ग्यास भेटिनु जिल्लाको विकास र समृद्धिका लागि कोसेढुंगा साबित हुने स्थानीयको भनाइ छ । राजधानी दैनिकबाट