काठमाडौं । खाडी मुलुकमा गर्मी बढेसँगै श्रमिकलाई खुला स्थानमा काम गर्न प्रतिबन्ध लगाउन थालिएको छ ।
साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले भोलि १५ जुनदेखि सबै निजी क्षेत्रका कम्पनी र प्रतिष्ठानले चर्को घाममा काम गर्ने प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मन्त्रालयले व्यावसायिक सुरक्षा तथा स्वास्थ्य राष्ट्रिय परिषद्को सहकार्यमा आगामी १५ सेप्टेम्बरसम्म दिउँसो १२ देखि ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाउने जनाएको छ ।
मन्त्रालयले यो निर्णय निजी क्षेत्रका कामदारको सुरक्षा र स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले गरिएको जनाएको छ । यस निर्णयले प्रत्यक्ष घाममा खुला ठाउँमा काम गर्न प्रतिबन्ध लागेको छ ।
यसले उनीहरूलाई सम्भावित स्वास्थ्य जोखिमबाट जोगाउने र अन्तर्राष्ट्रिय पेसागत सुरक्षा र स्वास्थ्य मापदण्डअनुसार स्वस्थ र सुरक्षित कार्य वातावरण प्रदान गर्ने लक्ष्य पनि छ ।
मन्त्रालयका अनुसार रोजगारदातालाई काम गर्ने घण्टा व्यवस्थित गर्न र यस निर्णयका प्रावधान पालना गर्न आह्वान गरेको छ । राजधानी दैनिकबाट