काठमाडौं । राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग प्रतिपक्षी दलको रहेको छ ।
सभामुख देवराज घिमिरे संसद्को जारी अवरोध खुलाउने र नियमित कार्यसूचीअनुसार संसद् सुचारु गर्ने विषयमा निरन्तर छलफलमा छन् ।
तर, राजनीतिक दलहरूको अडानले मंगलबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भयो । प्रतिनिधिसभाको बैठक बुधबार ९आज० बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
सत्तारूढ र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले मंगलबार छलफल गरेका थिए । छुट्टाछुट्टै एवं सामूहिक छलफल भयो तर सहमति जुटेन । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक सहमति जुट्न नसक्दा स्थगित गरी २ बजेका लागि बैठक बोलाइएको थियो ।
तर, २ बजे पनि बैठक बस्न सकेन । बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । यसबीचमा निरन्तर छलफल गर्ने र सहमति जुटाउने प्रयास भने जारी नै रहेको छ । राजधानी दैनिकबाट