काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रहरीले आफूमाथि अमानवीय व्यवहार गरेको र बुटले हिर्काउँदै घिसारेर लगेको बताएका छन् ।
प्रहरी हिरासतबाट रिहा भएलगत्तै पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको दमनले आन्दोलन नरोकिने बरु अझ उचाइमा पुग्ने चेतावनी दिए।
आइतबार बालुवाटारतर्फ जाने क्रममा ठूलो संख्यामा तैनाथ प्रहरीले आफूहरुलाई रोकेको र अगाडि बढ्न खोज्दा अकस्मात लाठीचार्ज भएको उनले सुनाए ।
आफूले स्थितिलाई संयमित बनाउन खोज्दा एक प्रहरी जवानले पटकपटक आफ्नो खुट्टामा बुटले हिर्काएको र कसले हानेको भनी सोध्दा अचानक कठालोमा समातेर लडाउँदै घिसारेर भ्यानमा हालिएको उनको भनाइ थियो ।
उनका अनुसार, लाठी प्रहारबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसमेत घाइते भएका थिए ।