काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट अधिवेशनको पूर्व सन्ध्यामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलसँग छलफल गरेका छन् ।
शाहले शनिबार सर्वदलीय बैठक बोलाउदै प्रदेश सभाका सत्तापक्षीय र प्रतिपक्ष दलबीच छलफल गर्दै आइतबारदेखि सुरू हुने प्रदेश सभाको बजेट अधिवेशन सञ्चालन बारे छलफल गरेका हुन् ।
छलफलमा मुख्यमन्त्री शाहले सहभागी दलका नेताहरूसँग संसदलाई प्रभावकारी बनाउने र नागरिकका समस्याहरू समाधानमा केन्द्रित रहने गरी परिणाममुखी कार्य सम्पादनमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
उनले चालु आर्थिक वर्षमा देखिएका समस्या सुधार गर्दै विकास खर्चलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।
प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले जेठ ११ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलको लगातारको अवरोधपछि सरकारको सिफारिसमा प्रदेश प्रमुखले २५ चैतमा प्रदेश सभाको पाँचौ अधिवेशन अन्त्य गरेका थिए ।