काठमाडौं । आज जेठ १० गतेदेखि काठमाडौँ प्रवेश गर्ने मुख्य सडक त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे सडक १६ दिन आंशिक रूपमा बन्द हुने भएको छv।
नागढुंगा-मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले यसअघि नै सूचना जारी गरी नागढुंगा-नौबिसे खण्डको नागढुंगा– पिप्लामोड १.८ किलोमिटर सडक निर्माण सुधार गर्नुपर्ने भएकाले जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधनहरू आवतजावत रोकिने भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाण्डौ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा आजदेखि आउँदो २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए ।
उक्त समयमा काठमाडौँबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमा र नौबिसेबाट काठमाडौँतर्फ जाने सवारी साधन खानीखोला बजारमा रोकिनेछन् ।
यस अवधिमा साना तथा मझौला सवारीसाधनको लागि वैकल्पिक रुटहरू सीतापाईला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।