काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा विदेश जाने व्यक्तिहरू श्रम मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने स्पष्ट पारेका छन् ।
शुक्रवार विभागमा पुगेका सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सो कुरा स्पष्ट पारेका हुन् ।
उनले भने, 'भिजिट भिसा लिएर जानेहरूसँग हाम्रो मन्त्रालय वा मातहतका कुनै पनि निकायको सरोकार छैन। त्यो विषय अध्यागमनको क्षेत्राधिकारमा पर्छ। हामी केवल श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरूसँग सम्बन्धित छौं।'
महानिर्देशक भट्टराईका अनुसार वैदेशिक रोजगारमा जाने कामदारले अब श्रम स्वीकृति लिन सजिलो भएको छ। विभागले सोही दिनमै स्वीकृति दिने व्यवस्था मिलाएको छ। 'हामी प्रक्रिया छिटोछरितो र प्रभावकारी बनाउन लागिपरेका छौं,' उनले भने, 'यसले श्रम स्वीकृतिका नाममा चल्ने विचौलियाको चक्रलाई तोड्नेछ।'
कोरिया जाने श्रमिकका विषयमा उठेका प्रश्नमा उनले इ–९ र इ–७ भिसा फरक–फरक प्रकृतिका रहेको स्पष्ट पारे। 'इ–९ भिसा कोरियाको श्रम मन्त्रालयमार्फत जारी हुन्छ भने इ–७ भिसा न्याय मन्त्रालयअन्तर्गत पर्दछ,' उनले भने, 'दुवै भिसाका माध्यमबाट कोरिया जाने अवसर खुला छ, यसमा द्विविधा गर्नु आवश्यक छैन।'
महानिर्देशक भट्टराईले वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन विभाग कटिबद्ध रहेको जनाउँदै, हाल भइरहेका सुधारहरू चाँडै देखिने विश्वास व्यक्त गरे।