काभ्रेपलाञ्चोक । वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा आठ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन ।
उनले प्रहरी टोली तथा स्थानीयको पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।
यसैबीच, सोमबार दिउँसोको वर्षापछिको बाढीमा बेपत्ता यहाँकी एक महिलाको आज पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।