काठमाडौं । धादिङमा मिनि क्यासिनो शैलीमा जुवाखाल फस्टाएका छन्।
राजमार्गका आसपासमा यसरी मौलाएका जुवा अखडामा प्रहरीकै संरक्षणको आरोप लागेको छ। सबैभन्दा ठूलो खेल हुने जुवाखाल मलेखुमा सञ्चालित छ।
बेनिघाट रोराङ वडा नम्बर ३ स्थित नयाँगाउँमा जनक सिलवालले मिनि क्यासिनोको शैलीमा चलाएको यो जुवाखालमा दैनिक लाखौंको हारजित हुने भएपनि स्थानीय प्रहरीले हप्ता असुलेर संरक्षण गरेको उजुरी गृह मन्त्रालयमा पुगेको छ ।
सो अखडामा धादिङबाट मात्र नभई चितवन र गोरखा र मकवानपुरबाट समेत नामुद जुवाडेहरु पुग्ने गरेका छन्।
यही जुवाखालका कारण कतिपय स्थानीयहरु सडकमा पुगिसकेका छन्। उनीहरुले सेन्ट्री समेत राखेर मिनि क्यासिनो चलाएको स्रोत बताउँछ ।
कतिपय अवस्थामा त्यहाँ युवतीहरुको समेत ओहोरदोहोर हुने स्थानीय बताउँछन् ।
सो अखडामा एकदिमै दर्जनौं कार्टुन बियर बिक्रि हुने गर्दछ । ह्वासिन सिमेन्टमा काम गर्ने चिनियाँ नागरिकहरु समेत जुवा खेल्न त्यहाँ बारम्बार पुग्ने गरेका छन् ।
जुवाखालको अगाडि एक सय भन्दा धेरै मोटरसाइकल थुप्रिने गरेको छ ।
तर, प्रहरीले थाहा नपाएझैं गर्दै आएको छ । स्थानीय सुमन खरेल लगायतले त्यहाँ मिटरब्याजमा पैसा लगानी गर्दै आएको समेत उजुरी मन्त्रालयमा पुगेको छ ।