काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर रहेको बताएका छन् ।
नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रसारण गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने उनले बताए ।
खस भाषामा सुरु गरिएको समाचारले कर्णालीको मौलिकता झल्काउने उनको भनाई थियो ।
उनले भने, ‘हामी लोकतान्त्रिक प्रणालीमा छौँ । जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ । प्रदेशमा सञ्चारका संस्थागत संरचना निर्माण गर्नु त्यसैको हिस्सा हो । मातृभाषामा सञ्चार हुनु भनेको नागरिक र राज्यबीचको सम्बन्ध अझ सशक्त हुनु हो, यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ ।’
उनले सरकारका सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भएको बताए।