काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ ।
भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्र श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपमा उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको पाइन्छ ।
सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग सीताको विवाह भएको थियो ।
सीता उत्पत्ति भएको आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ ।
यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ ।