धनगढी । नेपाल पत्रकार महांसघले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीलाई कारबाही गर्न माग गरेको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रामप्रसाद दाहालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रता विरोधी हर्कत गर्ने कानुन सचिव सुवेदीलाई कारबाहीको माग गरेका हुन् ।
‘सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव लिलाधर सुवेदीबाट सामाजिक सञ्जालमा समग्र पत्रकारिता क्षेत्र र सञ्चार गृहलाई लक्षित गर्दै व्यक्त धारणाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
वैशाख २० गते शनिबार समाचार शेयर गर्दै सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भनी फेसबुकमा स्ट्याटस लेखेको थिए ।
‘पत्रकारले लेखेको समाचारमा चित्त नबुझे या मिडिया हाउसको व्यवहारप्रति गुनासो भए त्यसउपर विधि र पद्धतिअनुसार अघि बढ्नसकिने प्रचलित अभ्यास छ । त्यसविपरीत जिम्मेवार पदमा रहेका व्यक्तिको यो शैली प्रेसलाई कुण्ठित गर्ने र बदनाम गराउने मनसाय प्रेरित रहेको स्पष्ट छ’, महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
महासंघले प्रेस स्वतन्त्रता विरोधी यस्ता गतिविधिप्रति गम्भीर आपत्ति जनाउँदै सम्बद्ध निकायसँग यस्तो प्रवृत्ति दोहोरिन नदिन आवश्यक कारबाहीको माग गरेको छ । साथै, पत्रकारको आत्मसम्मान र प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चिततालाई संरक्षण गर्न महासंघले जोडदार आग्रह गरेको छ।
साथै प्रेस स्वतन्त्रता विरोधी कानुन सचिव सुवेदीलाई कारबाही गर्न सर्वत्र आवाज उठेको छ । सचिव सुवेदीलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई विरोध पत्र पनि बुझाइएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम, प्रदेश समितिले आइतबार कार्यवाहक मुख्यमन्त्री बहादुर सिंह थापालाई विरोध पत्र बुझाएको हो ।
