काठमाडौं । त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नागढुङ्गा मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको हो ।
नागढुङ्गामुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौँतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ।
आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ । उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ।