काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अहिले बलियो सरकार रहेकाले गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन गर्न सहज अवस्था भएको बताएकी छन् ।
नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
गैरआवासीय नेपालीहरूलाई संविधानले दिएका अधिकार कार्यान्वयन आफूहरू प्रतिबद्ध रहेको बताईन् ।
उनले भनिन् ,‘एनआरएन कार्ड वितरणमा धेरै ढिलो भएको हो । तर, अहिले स्थायी सरकार आएको छ । तपाईंहरूले धेरै नै धैर्यता देखाउनुभयो र साथ दिनुभयो । अब यसलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छ ।’
विदेशमा रहेका सबै नेपाली नेपाली नै हुन् भन्नेमा सरकार र आफ्नो पार्टी नेपाली कांग्रेस स्पष्ट रहेको उनले बताइन् ।
उनले भनिन् ,‘विदेश गएका नेपालीहरू नेपाली नभई देश छाडेर गएका गद्दार हुन् भन्ने धारणा राख्ने कतिपय दलका कारण विगतमा संविधान लेख्ने क्रममा धेरै जुध्नु परेको थियो । संविधान लेख्दा गैरआवासीय नेपालीहरूलाई अधिकार दिनै हुँदैन भन्नेहरू पनि थिए । संविधान बनाउने क्रममा धेरै छलफल भएपछि मात्र संविधानमा यो व्यवस्था राखिएको हो ।’