काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा सहभागीहरूलाई धन्यवाद दिएका छन् । बुधबार राति सरकारसँग भएको सहमतिबारे प्रतिक्रिया दिँदै उनले सामाजिक सञ्जालमार्फत सबैलाई धन्यवाद दिएका हुन् ।
उनले काठमाडौंकेन्द्रित आन्दोलन २९ दिनसम्म चले पनि समग्रमा आन्दोलन २० माघबाट सुरु भएको र ८९ दिनसम्म चलेको उनको भनाइ छ । उनले आफूहरूको आन्दोलन उपलब्धिमूलक भएको भन्दै त्यसको श्रेय सहभागीहरूलाई जाने उल्लेख गरेका छन् ।
उनले विधेयकले कानुन बन्दा लिने प्रक्रियागत जटिलताका कारण तुरुन्तै ऐन जारी हुने स्थिति नरहेको उनले बताएका छन् ।
साथै आन्दोलनलाई यस्तै रूपमा महिनौसम्म लम्ब्याउन पनि जटिल भएको उनको भनाइ छ । सोही कारण ऐन पारित हुने सुनिश्चितताका साथ सरकारसँग सहमति गरेको उनको भनाइ छ ।
'विधेयकले कानुन बन्दा लिने नियमित प्रक्रियागत समयका कारण तुरन्तै ऐन जारी हुने परिस्थिति रहेन । यो आन्दोलन यस्तै रूपमा महिनौँ लम्ब्याउने अवस्था पनि जटिल थियो,' सुवेदीले फेसबुकमा लेखेका छन् ।