काठमाडौं । बुधबार सम्भवतः अहिलेसम्म कहिं कतै नभएको र नदेखिएको घटना नेपालको संघीय राजधानी काठमाडौंमा भयो । आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को एकता घोषणसभा राखिएको थियो ।
ती दुई पार्टीबीच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएकाले दुबै पार्टीका नेता कार्यकर्ता कार्यक्रम स्थलमा आउनेक्रम जारी थियो । त्यतिकैमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पनि कार्यक्रम स्थलमा आइपुग्छन् ।
उता, जिल्ला प्रहरी परिसर काठमाडौंमा सर्वोच्च अदालतको मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्ट आफैंले हस्ताक्षर गरेको एउटा पत्र बोकेर पुग्छन् । उक्त पत्रमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई तत्कालै पक्राउ गरेर कारागारमा राख्न आदेश गरिएको थियो ।
त्यसैले चौधरी आउनेवित्तकै सादा पोशाकमा आएका प्रहरीले उनलाई पक्राउ गरेर सिधै डिल्लीबजार कारागार पुर्याउँछन् । जसले गर्दा नाउपा र जनमतका नेता कार्यकर्ता निराशमात्रै हुँदैनन् सरकारविरुद्ध नाराबाजीमा उत्रिन्छन् ।
चौधरी पक्राउ परेपछि दुबै पार्टीको सहमतिमा आजको घोषणा कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले सामाजिक सञ्जालमार्फत जानकारी गराउँछन् । उनले रेशम चौधरी पक्राउ परेकोमा भत्र्सना गर्दै पार्टी एकीकरण हुनै लाग्दा चौधरीलाई प्रहरीले कार्यक्रम स्थलबाट पक्राउ गर्नु कानूनसम्मत नभएको बताउँछन् ।
टीकापुरमा पाशविक तवरबाट आठजना सुरक्षाकर्मी र एक नाबालकको हत्या गरिएको घटनाका मुख्य योजनाकार मानिएका व्यक्ति हुन् चौधरी । यो मुद्दामा जिल्ला, उच्च हुँदै सर्वोच्चसम्मले उनलाई दोषी ठहर गरेको छ ।
सर्वोच्चले २०८० साल जेठ २ गते अन्तिम फैसला गरेको थियो । फैसलामा रेशम चौधरीलाई दोषी ठहर गर्दै २० वर्षको जेल सजाय सुनाइयो । तर, सर्वोच्चको फैसलाको पूर्णपाठ समेत नआउँदै राष्ट्रपतिबाट उनले आममाफी पाए ।
२०८० साल जेठ १४ गते विवादितरुपमा आममाफी पाएको भोलिपल्ट रेशम जेलमुक्त भए । त्यसयता उनी फेरि राजनीतिमा सक्रिय छन् । आममाफीको विरुद्धमा जेठ १६ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । त्यसको छिनोफानो अझै भएको छैन ।
तर, आज अचानक रेशमलाई पक्राउ गर्नु भन्ने आदेशसहितको पत्र प्रहरीले पाएपछि धेरैले उनको आममाफी बदर भएको अड्कल लगाए । प्रहरीले अदालतको आदेश कार्यान्वयन गर्न पक्राउ गरिएको प्रष्टीकरण दियो । आदेश कार्यान्वनका लागि भन्दै प्रहरीले चौधरीलाई डिल्लीबजार पुर्याएको थियो ।
चौधरीलाई डिल्लीबजार कारागार पुर्याएपछि एकाएक घटनाले नयाँ मोड लिन्छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा कसरी अर्को पत्र आयो भन्नेतिर खोजिनिति शुरु हुन्छ ।
त्यसपछि बल्ल यथार्थ बाहिर आउँछ, जुन विषयमा कसैले सोच्न पनि सकिरहेका थिएनन् । कार्यालय समय शुरु हुने वित्तिकै सर्वोच्चको पत्र बोकेर जाने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले ‘नक्कली पत्र’ बनाएको रहस्य खुल्छ ।
त्यसपछि प्रहरीले उल्टै उनैलाई पक्राउ गर्छ र सोधपुछ गर्दा उनले आफूलाई हिंसामा मरेका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिन्छन् । उनले प्रहरीसँग भनेका छन्–‘टीकापुरमा मारिएकाहरू सम्झिएर पत्र नलेखी मेरो मनले मानेन ।’
विष्ट आफैँले जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर बुझाएको पत्र कानुनी हिसाबले स्थापित हुने तथ्य नदेखेपछि सोधपुछ गरेर हिरासतमा पठाइएको हो । उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएको छ ।
घटना यतिमै सकिंदैन । यही बीचमा नागरिक उन्मुक्ति पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्छ । संघीय सरकारमा नाउपाको तर्फबाट अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् । उनले केहीबेरमा राजीनामा दिने नाउपाले जानकारी गराउँछ ।
यता, चौधरी पक्राउसँगै नाउपा र जनमत पार्टीबीचको एकता कार्यक्रम विथोलिन्छ । जसको असर प्रज्ञा भवनमा समेत पर्न जान्छ । कार्यक्रमको सबै तयारी पूरा भइसकेले प्रज्ञा भवनमा दुवै पार्टीका कार्यकर्ताहरुको भिड लाग्छ तर, चौधरी पक्राउ परेपछि नेता कार्यकर्ताहरु विलखबन्धमा पर्छन् ।
स्रोतका अनुसार ६ घण्टाका लागि डेढ लाखमा भवनको हल बुक गरिएको हुन्छ । तर, चौधरी पक्राउ प्रकरणले पार्टीले पैसा भुक्तानी नगर्दा हल खोलिदैन । जसले गर्दा नेता कार्यकर्ताहरु मध्य दिउसोसम्म बाहिरै बस्न वाध्य हुन्छन्, अलपत्र पर्छन् ।
नाउपा र जनमत पार्टीबीचको एकता कार्यक्रम विथोलिंदा चौधरी नाउपकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमतका अध्यक्ष सिके राउतमाथि ठूलो समस्या आइपरेको छ भने नेता कार्यकर्ताको विचल्ली भएको छ । तर, चौधरी भने तत्कालै छुट्ने भएका छन् । उनलाई थुनमुक्त गराउन भन्दै सर्वोच्च अदालतले डिल्लीबजार कारागारलाई पत्र पठाइसकेको छ ।
यसरी काठमाडौं प्रहरीलाई समेत गुमराहमा पारेर फनफनती घुमाउने र नाउपा तथा जनमतका नेता कार्यकर्तलाई रुवाउने एक मात्र पात्र हुन्, सर्वोच्च अदालतका शाखा अधिकृत विष्ट । जो अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।