काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहलृे सरकारले एक दुई दिनको धम्की शैली त्याग गरेर संयमता, गम्भीरता र कूटनीतिक कौशल प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
सञ्चारमन्त्रीको उक्त भनाइलाई लिएर रास्वपाका सांसद शाहले असन्तुष्टि प्रकट गरेका हुन् । उनले सरकारले मेटालाई नेपालमा प्रतिबन्ध गर्ने चेतावनी दिनुभन्दा पहिले आफ्नो नीति सुधार गर्न सुझाव पनि दिए ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सिङ्गो नेपालको डिजिटल भविष्यबारे अन्तर्राष्ट्रिय जगतलाई सन्देश दिने गरी कम्पनीसँग संयमित भएर वार्ता गर्न सुझाव दिएका हुन् ।
[insert page='343264' display='yopanipadhnuhos.php']
मेटा नेपालमा दर्ता हुनुपर्ने आफ्नो मत पनि रहेको उल्लेख गर्दै उनले कानून र नीतिहरू सुधार गरी अगाडि बढ्नुपर्नेमा धम्की दिन नहुने बताए ।
उनले भने–‘साना उद्योगदेखि ठूला व्यापारसम्म यसको प्रयोग हुन्छ। लाखौँ साना उद्यमी, स्टार्टअप व्यवसायीहरू यिनै माध्यमबाट आफ्नो जीवन र व्यवसाय धानिरहेका छन्। त्यसैले, मेटालाई नेपालमा दर्ता गराउनुपर्छ र विदेशी कम्पनीहरूले नेपालको कानून र नीतिलाई सम्मान गर्नै पर्छ भन्ने कुरामा कुनै दुई मत छैन। तर हाम्रो कानून तथा नीतिमै केही उल्झनहरू छन् भने सो को समाधान नगरी चेतावनी मात्र दिने हो भने, त्यो लाजमर्दो हुनेछ । मेटाले अन्य देशमा दर्ता भइरहँदा नेपालमा किन तर्किरहेको छ ? यसको गहिरो छानबिन होस्।’