काठमाडौं । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनार सुरु हुँदैछ ।
नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिवल लुम्बिनीमा आयोजना गरिएको हो ।
वैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ ।
नेपाल र चीनबीचको कला संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् ।
संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।
फेस्टिवलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । फेस्टिवलमा ५ हजार बढीको सहभागिता रहने छ ।
सेमिनारमा बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर ४० वटा कार्यपत्र प्रस्तुत हुनेछ ।
सेमिनार शनिबार दिउँसो १ बजेबाट सुरु भई आइतबार ५ बजे सम्पन्न हुनेछ ।
यसअघि ,पहिलो, दोस्रो र तेस्रो सांस्कृतिक फेस्टिवल कम्बोडिया, श्रीलंका र थाइल्याण्डमा सम्पन्न भइसकेका छन् ।