अछाम । अछामको प्रमुख व्यापारिक केन्द्र साँफेहाट बजारमा शनिबार बिहान भएको भीषण आगलागीमा १० वटा पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
साँफेबगर नगरपालिका–३ स्थित सुवेच्छा होटलबाट बिहान करिब ३ः३० बजे सुरु भएको आगो छेउछाउका किराना, कपडा, मोबाइल, फलफूल लगायतका पसलमा फैलिँदा ठूलो क्षति भएको हो ।
विद्युत सर्टका कारण सल्किएको आगो होटलबाट सुरु भई छिमेकी पसलहरूमा डढेलोसरह फैलिएको स्थानीय व्यवसायीले जनाएका छन् । आगो नियन्त्रणमा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिए पनि दमकलको अभावले नियन्त्रणमा ढिलाइ भएको थियो ।
हालसम्म मानवीय क्षति नभएको प्रारम्भिक जानकारी छ। यद्यपि, क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।
केही साताअघि मात्र चैत्र २६ गते जयगढ बजारमा भएको आगलागीमा ३५ पसल जलेर ८ करोड बढीको क्षति भएको थियो ।