जनकपुरधाम । धनुषाको सहिद नगरपालिका–५ यदुकोहामा विष सेवनबाट गत सोमबार तीन बालबालिकाको मृत्युको घटनामा आमाको पनि चार दिनपछि निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विष सेवनबाट गम्भीर आमा पवित्रा साहको जनकपुरधामस्थित रामजानकी अस्पतालमा शुक्रबार मृत्यु भएको हो ।
गत सोमबार गहुँमा राख्ने विषादी सेवनबाट आमा बिरामी र तीन छोराछोरीको मृत्य भएको थियो । तीन छोराछोरी छ वर्षीय आदित्य साह, चार वर्षीया आकृती साह र दुई वर्षीया छोरी आरुती साहको घटनास्थलमै मृत्यु भएको थियो । यदुकोहाका सुशील साहका मृतक पवित्रा साह श्रीमती हुन् ।
विष सेवन गरेकी आमा पवित्रा साहको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर अस्पतालमा उपचार भइरहेको थियो । गर्भवती पवित्राको शल्यक्रिया गरेर शिशु निकालिएको थियो । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।