काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनपछि भाटभटेनी सुपरमार्केट भएको लुटपाटमा नेपाली कांग्रेसका नेताका छोराको पनि संलग्ता रहेको आरोप लगाएका छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाली कांग्रेसका एक सह–महामन्त्रीका छोरा भाटभटेनीमा लुटपाटमा संलग्न रहेको आरोप लगाए ।
अध्यक्ष लिङ्देनले सदनमा ती सह–महामन्त्रीका छोरालाई गृहमन्त्री रमेश लेखकले तुरुन्तै छाड्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई दबाब दिएको बताए ।
लिङ्देनले सदनमा भनेका थिए–‘हामीसँग त रेकर्ड छ गृहमन्त्रीज्यू, भाटभटेनीको लुटपाटमा सत्तारुढ पार्टीको, तपाईंकै पार्टीको सह–महामन्त्रीको छोरा पक्राउ परेको छ । किन छोड्नुभो तुरुन्तै ? तपाईंको नेताको छोराले रक्सी लिएर गयो, उसले ल्याएको ल्याएको अर्को मान्छेले ‘म रक्सी खान्नँ, मलाई कपडा काम लाग्छ’ भनेर कपडा लिएर गयो ।’ समाचारमा अन्यथा भएकोले सच्चाइएको छ । - सम्पादक