काठमाडौं । गभर्नर नियुक्ति गर्न बनेको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ति गर्न बनाइएको सिफारिस समिति निरीह देखिएपछि उनले राजीनामा दिएका हुन् ।
समितिलाई भूमिकाविहीन बनाउँदै सत्तारूढ दलका शीर्षस्थ नेताहरू नै गभर्नर बनाउन लागिपरेपछि उनले राजीनामा दिएका हुन् ।
हालसम्म बैठक पनि बस्न नसकेको सो समिति नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिपछि आउने नामको आधारमा औपचारिकता पूरा गर्ने कठपुतली वा रबरस्ट्याम्प मात्र बन्ने देखिएपछि भट्टराई राजीनामाको निचोडमा पुगेका हुन् ।
अर्थ मन्त्रालय आफूहरूको भएको हुँदा गभर्नर आफूहरूले भनेकै व्यक्ति हुनुपर्ने अडानमा नेकपा एमाले रहेको र कांग्रेस कुनै पनि हालतमा गभर्नर नछाड्ने पक्षमा देखिएपछि भाँजो हाल्न अनेक उपाय रचिरहेको बुझाइ उनको छ । ।
सरकारले गभर्नर नियुक्ति सिफारिस गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सम्मिलित समितिको बैठक बस्न नसकेको भन्दा पनि नबसालिएको निष्कर्ष उनको छ । राजधानी दैनिकबाट